युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिकले युएई जानुअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्नुपर्ने दोहोरो प्रावधान हटाई श्रमिकको प्रक्रियालाई थप सहज बनाउन अनुरोध गर्नुभएको छ। उहाँले यसबाट श्रमिकको समय, खर्च र झन्झट कम हुने विश्वास व्यक्त गर्नुभयो।
भेटवार्तामा नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, वैदेशिक रोजगारीसँग सम्बन्धित लागत न्यूनीकरण गर्ने, सिप विकास तथा सिप साझेदारीलाई सुदृढ बनाउने र श्रमिकको स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ।
यस्तै, युएईका राजदूत शामसीले ईद उल अजहाको अवसरमा १११ जना कैदिबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराउनुभयो। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उक्त निर्णयलाई मानवीय र सकारात्मक कदमको रूपमा प्रशंसा गर्नुभयो।
भेटका क्रममा राजदूत शामसीले नेपाल–युएई सम्बन्धसँग जोडिएका अन्य द्विपक्षीय सरोकारका विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी थप जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले नेपाल–युएईबीचको श्रम सहकार्यलाई अझ व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउँदै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्