Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

जर्मनीमा लगातार तीन दिन नयाँ तापक्रम कीर्तिमान, ४१.७°C पुग्दा रेल सेवा प्रभावित र जंगलमा आगलागी

जर्मनीले लगातार तीन दिनसम्म इतिहासकै उच्च तापक्रमको नयाँ कीर्तिमान कायम गरेको छ। जर्मन मौसम सेवा (DWD) का अनुसार जुन २८ मा ब्रान्डेनबर्गस्थित कोशेन (Coschen) मा ४१.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन देशको अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो।

यसअघि जुन २७ मा ४१.३ डिग्री सेल्सियस र त्यसको भोलिपल्ट ४१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। लगातार तीन दिनसम्म नयाँ कीर्तिमान कायम भएपछि जर्मनी अभूतपूर्व गर्मीको चपेटामा परेको छ।

अत्यधिक गर्मीका कारण देशको पूर्वाधारसमेत प्रभावित भएको छ। लाइपजिगमा अत्यधिक तापका कारण ट्रामका रेलमार्ग बांगिनुका साथै सडकको डामर पग्लिन थालेपछि ट्राम सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।

जर्मनीले इतिहासकै सबैभन्दा तातो रात पनि अनुभव गरेको मौसमविद्हरूले बताएका छन्। रातभर तापक्रम असामान्य रूपमा उच्च रहँदा मानिसको शरीरले पर्याप्त आराम पाउन नसकेको र यसले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगीहरूको स्वास्थ्यमा गम्भीर जोखिम बढाएको चेतावनी दिइएको छ।

यस्तै, चरम गर्मीका कारण देशका विभिन्न क्षेत्रमा जंगलमा आगलागी फैलिएको छ। केही स्थानमा दोस्रो विश्वयुद्धकालीन विस्फोट नभएका हतियार जमिनमुनि रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। जोखिम बढेपछि केही बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

गर्मीबाट राहत खोज्दै ताल, नदी र जलाशयमा पुगेका मानिसमध्ये कम्तीमा सात जनाको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मौसमविद्हरूका अनुसार हालको गर्मीको लहर पूर्वी युरोपतर्फ सर्दै गएको छ। आगामी केही दिनमा आँधी र वर्षासँगै केही राहत मिल्ने अनुमान गरिए पनि जलवायु परिवर्तनका कारण यस्ता चरम गर्मीका घटना भविष्यमा अझ बारम्बार र थप खतरनाक हुने चेतावनी विज्ञहरूले दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्