अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच सम्भावित कूटनीतिक वार्ताको तयारी भइरहेको संकेत तथा चीनबाट कच्चा तेलको माग अपेक्षाअनुसार नबढेका कारण तेलको मूल्यमा गिरावट आएको हो।
लन्डनस्थित अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले घटेर प्रति ब्यारेल ७२.५१ अमेरिकी डलरमा झरेको छ। यो गत महिनाको अन्त्यको तुलनामा करिब २२ प्रतिशत अर्थात् झन्डै २० डलरले कम हो।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) कच्चा तेलको मूल्य पनि ०.६ प्रतिशतले घटेर प्रति ब्यारेल ७०.३६ अमेरिकी डलरमा पुगेको छ। यो मे महिनाको अन्त्यको तुलनामा करिब १९ प्रतिशत अर्थात् झन्डै १७ डलरले घटेको हो।
बजार विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीच सम्भावित संवादप्रति सकारात्मक अपेक्षाले तेलको मूल्यमा दबाब परेको हो। तर स्ट्रेट अफ होर्मुज क्षेत्रमा कच्चा तेल आपूर्ति पूर्ण रूपमा सामान्य भइसकेको स्पष्ट संकेत नआएकाले लगानीकर्ताहरू अझै सतर्क छन्।
यसैबीच, इरानले स्ट्रेट अफ होर्मुजमा जहाज सञ्चालनसम्बन्धी प्राविधिक छलफल हुने जनाएको छ। यद्यपि, इरानी विदेश मन्त्रालयले तत्काल अमेरिकासँग औपचारिक वार्ता नहुने स्पष्ट पारेको छ। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दोहामा हुन सक्ने सम्भावित बैठकको नतिजा पर्खिनुपर्ने प्रतिक्रिया दिएका छन्।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको प्रभाव आगामी दिनमा विभिन्न देशको इन्धन बजारमा समेत पर्न सक्ने अनुमान गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्