चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिँदै अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मुलुकको परिवर्तन र नयाँ सुरुवाततर्फ सफल हुन आग्रह गरेका छन्। उनले मुलुकमा रहेका विकृति र विसंगति अन्त्य गर्दै नयाँ दिशामा अघि बढ्न आवश्यक रहेको बताए।
उनका अनुसार, अहिले लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य रहेको अवस्था अन्त्य गर्न आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नु अत्यावश्यक छ। यसका लागि सुशासन र सामाजिक न्याय सबैभन्दा महत्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे।
‘अब मुलुक पहिलाका विकृति र विसंगतिलाई छाडेर नयाँ दिशामा अघि बढ्ने अवसर प्राप्त भएको छ। यो महाधिवेशनले नयाँ युगको थालनीमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ यादवले भने।
साथै उनले संविधान संशोधनको आवश्यकता पनि औंल्याए। उनका अनुसार संविधानमा संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षता जस्ता उपलब्धि भए पनि अझै धेरै विषय अधुरा र त्रुटिपूर्ण छन्।
‘संविधानलाई संशोधन गरी विकृति र विसंगति हटाउनु आजको महत्वपूर्ण जिम्मेवारी हो,’ उनले जोड दिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्