नेकपा एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी छन्।
एमाले नेताहरूका अनुसार बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरण, त्यसपछि पार्टीले अपनाउने राजनीतिक तथा संसदीय रणनीति, साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
पार्टीको चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन अभियानका क्रममा सोमबार सुर्खेत पुगेका पौडेललाई पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको र मंगलबार काठमाडौं ल्याइएको जनाइएको छ।
एमालेले भने पौडेललाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाएको छ। पार्टी नेताहरूले उक्त कदमको राजनीतिक रूपमा प्रतिरोध गर्ने बताउँदै आएका छन्।
यसै विषयमा साझा धारणा बनाउन र आगामी कदम तय गर्न एमाले संसदीय दलको बैठक बसेको बताइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्