Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

त्रिवि उपकुलपतिमा तीन जनाको चर्चा, को-को छन् अन्तिम दौडमा?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्तिका लागि छनोट समितिले अन्तिम तीन जनाको नाम टुंगो लगाएको छ। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले अन्तिम सूची तयार गरेको हो।

सिंहदरबार स्रोतका अनुसार समितिले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ। मन्त्री पोखरेलले ती नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरेपछि तीन जनामध्ये एक जनालाई त्रिविको उपकुलपतिमा नियुक्त गरिनेछ। यद्यपि, सरकारले औपचारिक रूपमा नाम सार्वजनिक गरिसकेको छैन।

विश्वविद्यालय स्रोतका अनुसार अन्तिम दौडमा प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेलप्रा.डा. नन्दबहादुर सिंह रहेका छन्।

अन्तिम दौडमा को-को?

प्रा.डा. भोला थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। खुला प्रतिस्पर्धाबाट शिक्षण सेवामा प्रवेश गरेका उनी प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ माघमा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए। उनको प्रशासनिक अनुभव र उच्च शिक्षामा नेतृत्व क्षमता बलियो पक्ष मानिएको छ।

प्रा.डा. दुर्गादत्त पौडेल ले अमेरिकाको युनिभर्सिटी अफ लुसियानामा काम गरेको अनुभव बटुलेका छन्। विदेशमा प्राप्त शैक्षिक तथा अनुसन्धान अनुभवलाई नेपालको उच्च शिक्षामा उपयोग गर्ने योजना प्रस्तुत गरेका कारण उनी पनि बलिया दाबेदारका रूपमा हेरिएका छन्।

प्रा.डा. नन्दबहादुर सिंह त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। २०७६ मा मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व सम्हालेका उनी प्रशासनिक अनुभवका आधारमा प्रतिस्पर्धामा छन्, यद्यपि उनको कार्यकालमा विश्वविद्यालय लामो समय तालाबन्दीको समस्यामा परेको थियो।

५० आवेदकमध्ये अन्तिम तीन

त्रिविको उपकुलपतिका लागि खुला प्रतिस्पर्धामार्फत ५० जनाले आवेदन दिएका थिए। प्रारम्भिक मूल्याङ्कनपछि १० जनाको सर्टलिस्ट सार्वजनिक गरिएको थियो।

सर्टलिस्टमा अमरप्रसाद यादव, कविप्रसाद पोखरेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी परेका थिए।

यी उम्मेदवारको प्रस्तुतीकरण, रणनीतिक कार्ययोजना र अन्तर्वार्तापछि छनोट समितिले अन्तिम तीन जनाको नाम टुंगो लगाएको हो।

आठ विश्वविद्यालयका लागि पनि प्रक्रिया सम्पन्न

सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयसँगै पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिका लागि पनि तीन–तीन जनाको नाम छनोट गरेको जनाएको छ।

यी आठ विश्वविद्यालयका लागि कुल २१८ जनाको आवेदन परेको थियो। पहिलो चरणमा शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र र कार्ययोजनाको मूल्याङ्कन गरी सर्टलिस्ट तयार गरिएको थियो। त्यसपछि सार्वजनिक सुझाव संकलन, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम नाम छनोट गरिएको हो।

सरकारले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप कम गर्दै योग्य नेतृत्व चयन गर्ने उद्देश्यले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति छनोट प्रक्रिया अघि बढाएको हो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्