Sunday, September 06, 2026
आइतबार, भाद्र २१, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो।

यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ। विश्वविद्यालय स्रोतका अनुसार यी नियुक्तिहरू सेवा आयोगलाई अझ प्रभावकारी, पारदर्शी तथा योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।

सेवा आयोग अध्यक्ष चयनका लागि शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिले प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्ष नियुक्त गर्नुभएको हो।

समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ।

आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ शहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो।

थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

यसका साथै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा पनि उहाँले योगदान दिनुभएको थियो। हाल उहाँ नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध रहनुभएको छ।

विश्वविद्यालयले थापाको लामो प्रशासनिक अनुभव र सार्वजनिक नीति, आवास, शहरी विकास, पूर्वाधार तथा विपद् व्यवस्थापन क्षेत्रमा रहेको विज्ञताले त्रिवि सेवा आयोगलाई थप सक्षम र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्