स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छिन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै सरोकारवाला सबै पक्षसँग सुझाव दिन आग्रह गरेकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
उनका अनुसार स्वास्थ्य बीमा ऐन संशोधनको क्रममा सबै संगठित क्षेत्रका नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको बीमा प्रणालीलाई साविकको स्वास्थ्य बीमा संरचनासँग एकीकृत गर्ने जस्ता विषयहरूमा छलफल भइरहेको छ ।
मन्त्री मेहताले यस प्रक्रियालाई अघि बढाउन सांसदसहित सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य बीमा प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य रहेको बताइन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्