Thursday, September 03, 2026
बिहीबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सुस्ता विवाद : भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि तनाव, सोमबार नेपाल–भारतबीच छलफल हुने

१८ साउन, नवलपरासी (पश्चिम)। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि उत्पन्न भएको सीमा विवाद समाधानका लागि नेपाली र भारतीय पक्षबीच सोमबार छलफल हुने भएको छ।

स्थानीयका अनुसार आइतबार भारतीय सुरक्षाकर्मीको साथमा आएको टोलीले नेपाली सीमाभन्दा माथि निर्माण गरिएको अस्थायी बाँध भत्काएपछि स्थानीयवासीले विरोध जनाएका थिए। त्यसक्रममा भएको झडपमा तीन जना नेपाली घाइते भएका छन्।

सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आँदम खानका अनुसार अहिले क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। दुवै पक्षबीच सोमबार छलफल गरेर विवाद समाधानका लागि पहल गर्ने सहमति भएको उनले जानकारी दिए।

स्थानीयवासीले वर्षायाममा आउने पानीको भेलबाट बस्ती जोगाउन शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेका थिए। तर आइतबार भारतीय पक्षले उक्त बाँध भत्काएपछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।

आँदम खानका अनुसार भारतीय पक्षले सुरुदेखि नै १३२ मिटर क्षेत्रमा बाँध निर्माण गर्न अवरोध गर्दै आएको थियो। सहमतिअनुसार नेपाली पक्षले वर्षाको भेल रोक्न माटो राखिरहेको बेला सादा पोशाकमा हतियारसहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेपछि अवस्था थप तनावपूर्ण बनेको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार त्यसक्रममा सुस्ता गाउँपालिका–५ को थारु टोलमा निर्माणाधीन माटोको अस्थायी बाँध भत्काइएको थियो।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न निर्माण गरिएको अस्थायी बाँधका विषयमा विवाद उत्पन्न भएको पुष्टि गर्दै घटनाबारे आवश्यक समन्वय भइरहेको बताएका छन्। उनले दुवै पक्षबीच संवादमार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको पनि बताएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्