Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

विपद् आउनुअघि तयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन, हेलिकप्टर दुरुपयोग रोक्ने घोषणा

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा परम्परागत कार्यशैली परिवर्तन गर्दै विपद् आउनुअघि नै प्रभावकारी पूर्वतयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै मन्त्री गुरुङले विपद् भएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिले अपेक्षित परिणाम दिन नसकेको बताए।

"हामी सधैं विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुअघि नै सजग र तयारी अवस्थामा रहनुपर्छ," उनले भने।

बैठकमा गृहमन्त्री गुरुङले विगतमा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको दुरुपयोग भएको उल्लेख गर्दै वर्तमान सरकारले यस्तो अभ्यास अन्त्य गर्ने स्पष्ट पारे। उनले आफू स्वयंले पनि अनावश्यक रूपमा हेलिकप्टर प्रयोग नगर्ने घोषणा गरे।

"म आफैं पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन," उनले भने, "उद्धार कार्य र सुरक्षाकर्मीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न पाउने छैन।"

मन्त्री गुरुङले उच्च जोखिमयुक्त बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पूर्वतयारीलाई अझ सुदृढ बनाउन निर्देशन दिँदै सबै निकायले एकीकृत टोलीका रूपमा काम गरेमा मानवीय क्षति शून्यमा झार्न सकिने विश्वास व्यक्त गरे।

"विपद्कै कारण कसैले पनि ज्यान गुमाएको खबर मैले सुन्न नपरोस्," उनले भने।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्