दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनामा परेकी १९ वर्षीया सिर्जना खड्का दुई दिन बितिसक्दा पनि अझै बेपत्ता रहेकी छन्। नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने सपना बोकेकी सिर्जना सुर्खेतबाट घर फर्किने क्रममा दुर्घटनामा परेकी हुन्।
कालीकोटको रास्कोट नगरपालिका–२, सिप्खानाकी सिर्जना एक महिनादेखि सुर्खेतमा बसेर नेपाली सेनाको जवान पदका लागि तयारी गरिरहेकी थिइन्। यस वर्ष कक्षा १२ को परीक्षा दिएकी उनले सेनाको जवान पदका लागि आवेदन दिएर ‘बेरिङ टेस्ट’ समेत उत्तीर्ण गरिसकेकी थिइन्।
गाउँमा रोपाइँ सुरु भएपछि आमाबुवालाई सघाउन घर फर्किएकी सिर्जनाले बिहीबार बिहान फोन गरेर बेलुकासम्म घर आइपुग्ने जानकारी दिएकी थिइन्। सुर्खेतमा बहिनी सम्झना र कक्षा ४ मा अध्ययनरत भाइ खिलाराजलाई कोठामा छाडेर "खेत रोपेर छिट्टै फर्किन्छु" भन्दै हिँडेकी उनी घर पुग्न भने पाइनन्।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सागेंताडा नजिक कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। बुलबुले यातायात प्रालिमा दर्ता रहेको उक्त गाडीसँगै सिर्जना र अन्य यात्रुहरू पनि नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुलेको छैन। गाडीका चालक तथा साहु तुलाराम सुवेदीले पाल्ताडास्थित रारा होटलमा सात जनाका लागि खाना तयार गर्न फोन गरेको आधारमा चालक र सहचालकसहित कम्तीमा सात जना गाडीमा रहेको अनुमान गरिएको छ।
दुर्घटनाको दुई दिन बितिसक्दा पनि कर्णाली नदीको तीव्र बहाव र धमिलो पानीका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। सशस्त्र प्रहरी बलको विशेष गोताखोर टोली निरन्तर खोजीमा खटिए पनि अहिलेसम्म गाडी वा बेपत्ता यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।
नेपाली सेनाको पोसाक लगाएर देशको सेवा गर्ने सिर्जनाको सपना अहिले कर्णाली नदीको बहावसँगै अनिश्चित बनेको छ भने उनका परिवारजन र आफन्त उनी सुरक्षित भेटिने आशामा प्रतीक्षारत छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्