चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक तथा पूर्वाधार आयोजनाको स्थलगत निरीक्षणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम दुई मन्त्रीसहित आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी छन्।
मन्त्री गौतमसँगै बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र वन तथा वातावरणमन्त्री गीता चौधरीले सोमबार निकुञ्ज क्षेत्रभित्रका सडक तथा पुल निर्माणसँग सम्बन्धित स्थानहरूको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्रीहरूले स्थानीय बासिन्दासँग भेटघाट गर्दै सडक निर्माण, यातायात पहुँच र विकासका आवश्यकताबारे जानकारी लिएका थिए। उनीहरूले भरतपुर–माडी आवतजावतलाई सहज बनाउन प्रस्तावित वैकल्पिक सडक तथा पुल निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रको समेत अवलोकन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका मन्त्रीहरू बन्द सत्र सुरु हुनुअघि उपलब्ध समय उपयोग गर्दै निरीक्षणमा निस्किएका थिए।
कानुनमन्त्री गौतमले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताअनुसार स्थानीय जनताका समस्याको समाधान खोज्ने उद्देश्यले स्थलगत अवलोकन गरिएको बताइन्। उनले विकास निर्माणका कामलाई अगाडि बढाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय गरिने पनि उल्लेख गरिन्।
त्यसैगरी, पूर्वाधारमन्त्री लम्सालले माडी जाने सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनमा सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयले लामो समयदेखि सडक स्तरोन्नति र वैकल्पिक मार्ग निर्माणको माग गर्दै आएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्