श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक बुधबार १५ मिनेटका लागि स्थगित भएको छ।
विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा मन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो।
मन्त्रीको जवाफपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए। तर प्रतिप्रश्नको जवाफ पनि सन्तोषजनक नभएको भन्दै उनले पुनः प्रश्न गर्न पाउनुपर्ने माग राख्दै विरोध जनाएका थिए।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय नियमावलीअनुसार प्रतिप्रश्नमाथि पुनः प्रतिप्रश्न गर्न नमिल्ने स्पष्ट पारे पनि साम्पाङ आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि सभामुखले सदनको कार्यसूची अघि बढाउन खोज्दा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए।
सभामुख अर्यालले पटक–पटक आफ्नो स्थानमा फर्किन र संसद्को प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेका थिए। साथै संसद्को विधि र नियमावली नमिच्न चेतावनीसमेत दिएका थिए। तर सांसदहरूले विरोध जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
यसअघि पनि सांसदहरूको नाराबाजी र वेल घेराउकै बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
श्रम संस्कृति पार्टीले मन्त्रीहरूको जवाफप्रति असन्तुष्टि जनाउँदै संसद्मा थप प्रश्न गर्ने अवसर दिनुपर्ने माग राखेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्