Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

SEROFLO ROTACAPS 250 नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र, २१ थान बरामद

बजारमा SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि बिक्री भइरहेको पुष्टि भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारमा व्यापक अनुगमन सुरु गरेको छ। मन्त्री निशा मेहताको निर्देशनमा औषधि व्यवस्था विभागले बिदाको दिनसमेत विभिन्न क्षेत्रमा अनुगमनलाई निरन्तरता दिएको हो।

विभागका अनुसार महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क–बालाजु क्षेत्रमा १४ वटा र बनेपामा ८ वटा गरी कुल ६६ वटा फार्मेसीको निरीक्षण गरिएको छ।

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट SEROFLO ROTACAPS 250 नामक २१ थान नक्कली औषधि बरामद गरिएको विभागले जनाएको छ। उक्त पसललाई तत्काल बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले बजार अनुगमन आगामी केही दिनसम्म पनि निरन्तर जारी रहने जनाएको छ। यसबाट सर्वसाधारणले गुणस्तरीय तथा सुरक्षित औषधि प्राप्त गर्न सहज हुने र अवैध तथा नक्कली औषधिको कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र कुनै शंकास्पद औषधि भेटिए वा जानकारी प्राप्त भएमा सम्बन्धित निकायमा तत्काल सूचना दिन आग्रह गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्