बुटवल अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेर शङ्कास्पद औषधि बरामद गरेको छ। नक्कली तथा प्रतिबन्धित औषधिको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार छापा मारेको हो।
प्रहरीका अनुसार फार्मेसी तथा त्यससँग सम्बन्धित गोदाममा खोजतलास गर्दा लुकाइराखिएका शङ्कास्पद औषधि फेला परेका छन्। बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले विशेष सूचनाका आधारमा अनुगमन तथा छापा कारबाही गरिएको जानकारी दिए।
उनका अनुसार भारतमा उत्पादित केही औषधि नक्कली भएको आशङ्कामा औषधि व्यवस्था विभागले यस्ता औषधिको खरिद–बिक्री नगर्न यसअघि नै निर्देशन जारी गरिसकेको छ। ती औषधि समेत सैनामैना फार्मेसीबाट बिक्री भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।
छापाका क्रममा बरामद औषधिको गुणस्तर तथा वैधानिकताको परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको र उनीविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्