राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका चौधरीले प्रथम महाधिवेशनमार्फत खुला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने गरी मत मागिरहेको बताएका छन् ।
उनका अनुसार सहमहामन्त्री पदमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानसँग जोडिएको हो । उनले भने, “तल्लो तहका साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउन मेरो उम्मेदवारी केन्द्रित छ ।”
अशोककुमार चौधरी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक सांसद थिए । गत चुनावमा सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी हाल प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समिति सभापति छन् ।
४३ वर्षीय चौधरी रास्वपा स्थापना कालदेखि नै संगठन विस्तार अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका नेताका रूपमा परिचित छन् । उनले समावेशितामार्फत नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने धारणा पनि राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्