राष्ट्रिय स्वतन्त्र पार्टी (Rastriya Swatantra Party) का १८ वर्ष मुनिका ३५ हजारभन्दा बढी बालबालिकाले सदस्यता लिएको तथ्य सार्वजनिक भएको छ।
चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनअनुसार कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार १८ वर्ष मुनिका सदस्यको संख्या ३५ हजार २५७ रहेको छ, जुन कुल सदस्य संख्याको ६.७ प्रतिशत हो। बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिका मानिन्छ।
उमेर समूहगत विवरणअनुसार १८ देखि ४५ वर्ष उमेर समूहका सदस्य ३ लाख ३५ हजार ४७८ (६४.१ प्रतिशत) रहेका छन्। ४६ देखि ६५ वर्ष उमेर समूहका सदस्य ९८ हजार ८५७ (१८.९ प्रतिशत) छन् भने ६५ वर्ष माथिका सदस्य १३ हजार ६८२ (२.६ प्रतिशत) रहेका छन्।
त्यस्तै, उमेर नखुलाउने सदस्यको संख्या ४० हजार १९१ रहेको प्रतिवेदनमा उल्लेख छ, जुन कुल सदस्यताको ७.७ प्रतिशत हो।
महाधिवेशन अन्तर्गत अब सभापति तथा ९९ केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। निर्वाचित ९९ सदस्यमध्ये ७ प्रदेशबाट ५/५ जना अनिवार्य रहने व्यवस्था छ। तीमध्ये प्रत्येक प्रदेशबाट चयन हुने पाँच जनामा दुई महिला अनिवार्य हुनेछन्।
त्यसपछि दोस्रो चरणमा पार्टीका अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्