राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिन सक्ने संकेत देखिएको छ । बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन एक दिनसम्म थपिन सक्ने सम्भावनाबारे आफूहरू मानसिक रूपमा तयार रहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले बन्द सत्र ढिलो हुनु स्वाभाविक प्रक्रिया भएको भन्दै यसलाई लिएर पार्टी नेतृत्व नआत्तिएको बताए । उनले महाधिवेशनको अवधि लम्बिन सक्ने विषयमा यसअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल भएको जानकारी दिए ।
“बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं । यसलाई स्वाभाविक रूपमा लिएका छौं । यस्ता सम्भावनाका कारण एक दिन लम्बिन सक्छ भनेर केन्द्रीय समितिको बैठकमा पनि चर्चा गरेका थियौं । त्यसैले मानसिक रूपमा हामी तयार छौं,” झाले भने ।
उनका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको छ । सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि दर्ता भएको अद्यावधिक विवरण प्राप्त भएको उनले बताए ।
यद्यपि मधेश प्रदेशका केही प्रतिनिधि दर्ता प्रक्रियाबाट छुटेकाले उनीहरूलाई समावेश गर्ने गरी छुट्टै टोलीले गृहकार्य गरिरहेको जानकारी दिए । “बन्द सत्र सुरु हुन्छ, तर केही विलम्ब भइसकेको छ । अहिले हिजोको सूचीअनुसार दर्ता प्रक्रिया अघि बढाएका छौं । छुटेका प्रतिनिधिको विषयमा अर्को टोलीले काम गरिरहेको छ,” उनले भने ।
प्रतिनिधिको संख्या वृद्धि, दर्ता व्यवस्थापन तथा केही प्राविधिक कारणले बन्द सत्र सुरु हुन ढिलाइ भएको बताइएको छ । महाधिवेशनको कार्यतालिका प्रभावित भए पनि नेतृत्वले सबै प्रतिनिधिको सहभागिता सुनिश्चित गर्दै प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्