राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको भए पनि उनीहरूको सहभागिता अझै अनिश्चित बनेको छ।
रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट महामन्त्री कबिन्द्र बुर्लाकोटीले विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणापत्र पठाएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलहरूले निमन्त्रणा प्राप्त भएको पुष्टि गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले भने महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा अझै निर्णय गरिसकेका छैनन्। थापाको सचिवालयका एक सदस्यका अनुसार रास्वपाको महाधिवेशनमा जाने विषयमा अन्तिम टुंगो लागिसकेको छैन।
यता नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। ओलीकी स्वकीय सचिव निरु पालले अध्यक्ष ओली शुभकामना मन्तव्यका लागि महाधिवेशनमा नजाने जानकारी दिइन्। उनले अध्यक्ष बाहेक एमालेको तर्फबाट अन्य कोही प्रतिनिधि पठाउने विषयमा भने निर्णय हुन बाँकी रहेको बताइन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहभागिता भने स्वास्थ्य अवस्थामाथि निर्भर रहने भएको छ। नेकपा नेता देवेन्द्र पौडेलका अनुसार स्वास्थ्य अनुकूल भए प्रचण्ड स्वयं महाधिवेशनमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।
यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भने रास्वपाको महाधिवेशनमा सहभागी हुने निश्चित भएको छ। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देनले महाधिवेशनमा पुगेर शुभकामना मन्तव्य दिने कार्यक्रम तय भएको जानकारी दिए।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीले आफ्नो संगठनात्मक विस्तार र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। त्यसैले महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूको उपस्थितिलाई विशेष चासोका साथ हेरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्