Sunday, June 21, 2026
आइतबार, असार ७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.52 SELL AUD/NPR 107.35 SELL BHD/NPR 404.38 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशन : महिला उपसभापति पदमा सबैभन्दा चर्को प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै गर्दा नेतृत्व चयनलाई लिएर आन्तरिक दौडधुप तीव्र बनेको छ। विशेषगरी महिला उपसभापति पदमा सबैभन्दा चर्को प्रतिस्पर्धा देखिएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। सभापति पदमा वर्तमान सभापति रवि लामिछानेलाई निरन्तरता दिने लगभग निश्चित मानिएको छ भने शीर्ष नेताहरूबीच सहमतिका आधारमा केही पद निर्विरोध गराउने प्रयास पनि भइरहेको छ।

संशोधित विधानअनुसार रास्वपामा एक महिलासहित तीन उपसभापति रहने व्यवस्था छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको एक उपसभापति पद सुरक्षितजस्तै देखिए पनि महिला उपसभापति पदमा भने आकांक्षीहरूको संख्या धेरै भएकाले प्रतिस्पर्धा रोचक बनेको हो।

सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले संगठनभित्रको आफ्नो भूमिकालाई थप विस्तार गर्दै उपसभापति बन्ने इच्छा व्यक्त गरेका छन्। कानुनमन्त्री सोविता गौतम पनि उक्त पदकी बलियो दाबेदारका रूपमा देखिएकी छन्। रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले पार्टी निर्माणमा आफ्नो योगदानका आधारमा नेतृत्व तहमा उक्लिने अपेक्षा राखेकी छन्।

त्यसैगरी विवेकशील साझा पार्टीकी पूर्वअध्यक्ष समीक्षा बाँस्कोटाले पनि महिला उपसभापति पदमा दाबी प्रस्तुत गरेकी छन्। पार्टीभित्रको अनुभव र राजनीतिक पृष्ठभूमिका कारण आफू उक्त पदका लागि स्वाभाविक उम्मेदवार रहेको उनको बुझाइ छ।

महिला उपसभापति पदमा आकांक्षीहरूको संख्या बढेसँगै पार्टीभित्र सहमतिका आधारमा उम्मेदवार टुंग्याउने प्रयास जारी रहेको स्रोतले जनाएको छ। यद्यपि सहमति जुट्न नसके निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना बलियो देखिएको छ।

यता खुला उपसभापति पदमा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल, परराष्ट्रमन्त्री शिशिर खनाल तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहको नाम चर्चामा रहेको छ।

महाधिवेशनले रास्वपाको आगामी राजनीतिक दिशा तय गर्ने मात्र होइन, पार्टीभित्र उदाउँदै गरेका नयाँ शक्ति केन्द्रहरूको परीक्षणसमेत गर्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्