राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया सुरु भइरहँदा महामन्त्री पदका लागि ६ जना नेताले आकांक्षा देखाएका छन्।
महाधिवेशनमा सभापति पदमा पार्टीका संस्थापक सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन शाह चयन हुने लगभग निश्चित भइसकेको छ। अन्य पदमा भने आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ।
पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत रहने महामन्त्री पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित ६ जना नेताले दाबी प्रस्तुत गरेका छन्। आकांक्षीहरूमा हालका सहमहामन्त्री विपिन आचार्य, पूर्वमन्त्री शिशिर खनाल, नेता मनिष झा, गणेश पराजुली र भूपदेव शाह रहेका छन्।
रास्वपाको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ। त्यसैले आकांक्षीहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि आज मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आकांक्षीमध्ये भूपदेव शाह भने निर्वाचनभन्दा मनोनयनमार्फत महामन्त्री बन्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि पार्टीको संगठनात्मक संरचना र जिम्मेवारी बाँडफाँट पनि टुंगो लाग्नेछ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्