राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) Rastriya Swatantra Party का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा विस्तृत राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै पार्टीलाई आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने समय आएको बताएका छन्।
चितवनको भरतपुरमा जारी महाधिवेशनमा सम्बोधन गर्दै उनले रास्वपा केवल एउटा दलको भेला नभई नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्ने प्रयास भएको बताए।
“हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ,” उनले भने, रास्वपा कुनै अप्राकृतिक सम्झौता वा विभाजनबाट नभई समाजमा लामो समयदेखि सञ्चित निराशा र परिवर्तनको आकांक्षाबाट जन्मिएको पार्टी भएको दाबी गरे।
उनका अनुसार लोकतन्त्र आए पनि संस्थागत गुणस्तर अपेक्षित रूपमा विकास हुन नसकेको, सेवा प्रवाह कमजोर रहेको र राज्यको क्षमता विस्तार हुन नसकेको अवस्थाले वर्तमान संकट सिर्जना गरेको हो।
वाग्लेले नेपालको मुख्य समस्या स्रोतको अभाव नभई गलत प्रोत्साहन संरचना भएको उल्लेख गर्दै राजनीति र प्रशासन दुवै क्षेत्रमा पहुँच र शक्ति केन्द्रित प्रणाली हावी भएको टिप्पणी गरे।
उनले रास्वपाको राजनीतिक उद्देश्य सरकार मात्र परिवर्तन गर्ने नभई राजनीतिक संस्कार परिवर्तन गर्ने अभियान भएको स्पष्ट पारे।
“हामी भागबण्डाबाट मेरिटोक्रेसीतर्फ, नियन्त्रणबाट प्रतिस्पर्धातर्फ र पहुँचमुखी प्रणालीबाट नागरिककेन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ,” उनले भने।
उनले रास्वपालाई आक्रोश मात्र होइन, आशा, आलोचना मात्र होइन, विकल्प र विद्रोह मात्र होइन, निर्माण दिने शक्ति बन्नुपर्नेमा जोड दिए।
उनले पार्टीलाई आन्दोलनबाट संस्थागत शक्तिमा रूपान्तरण गर्दै नयाँ पुस्ताले शासन गर्न पनि सक्छ भन्ने प्रमाणित गर्नुपर्ने बताए।
आफ्नो राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै वाग्लेले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरे।
उनका अनुसार यस्तो प्रणालीमा योग्यता र क्षमता सफलता निर्धारण गर्ने आधार हुनुपर्ने, नागरिकको सेवा गर्ने राज्य हुनुपर्ने र युवाले अवसर खोज्दै विदेशिनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने हो।
सम्बोधनको अन्त्यमा उनले महाधिवेशनलाई राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा व्याख्या गर्दै यो यात्रालाई निराशाबाट आशातर्फ र बरालिएको राजनीतिबाट परिणाममुखी लोकतन्त्रतर्फको मोड भएको बताए।
उनले “आउनुहोस्, निराशालाई आशामा बदलौँ” भन्ने आह्वानसहित चितवनबाट नयाँ राजनीतिक यात्राको सुरुआत गर्ने सन्देश दिएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्