नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत सहकार्य हुने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता हुने र त्यससँगै एमालेसँग पनि सहकार्य अघि बढ्ने सहमति भएको बताए।
‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ,’ उनले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’
उनले एमालेसँग तत्काल पार्टी एकताको विषयमा छलफल नभएको स्पष्ट पार्दै कार्यगत सहकार्यलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार संसदीय संघर्ष, सडक आन्दोलन र निर्वाचनमा सहकार्यले वामपन्थी शक्तिलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ।
‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ। पार्लियामेन्ट्री संघर्ष, सडक संघर्ष र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ,’ उनले भने, ‘पार्लियामेन्टमा हामी एउटा शक्तिको रूपमा उपस्थित हुन सक्छौँ। त्यसकारण वामपन्थीहरूसँग सहकार्य आवश्यक छ।’
सम्बोधनका क्रममा प्रचण्डले आफूविरुद्ध हुने आलोचना र सामाजिक सञ्जालमा आउने टिप्पणीलाई सामान्य रूपमा लिने गरेको पनि बताए। उनले कार्यकर्तालाई कुनै भ्रम वा डरमा नपरी दृढतापूर्वक अघि बढ्न आग्रह गरे।
‘हामी घण्टी बजाउने भिक्षु होइनौँ,’ उनले भने, ‘हामी जस्तोसुकै क्रमभंग गर्न तयार भएका मान्छे हौँ। महाधिवेशनमा अर्को क्रमभंग गरिन्छ। तपाईंहरू नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनुस्। प्रचण्डको अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्।’
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्