प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय भएको हो ।
रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शाहले सम्हालिरहेका छन् । त्यस मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने भए पनि उनको तर्फबाट अर्थमन्त्री वाग्लेले नै जवाफ दिनेछन् ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।
अर्थमन्त्री वाग्लेको आज अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि रहेको छ ।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसद्मा जवाफ दिएका थिए । बजेटमाथिको छलफलमा समेत प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई सुम्पिएका हुन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्