गृहमन्त्री सुधन गुरुङले केही दिनअघि पर्सामा गरेको छड्के अनुगमनपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी र सवारी जाँचलाई कडा बनाइएका बेला पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको सवारी जाँचका क्रममा प्रहरीले १०२ किलो ६ सय ३८ ग्राम गाँजासहित भारतको बिहार राज्य, बेतिया जिल्ला, नवलपुर निवासी ३२ वर्षीय गुड्डु बर्मालाई पक्राउ गरेको हो। उनी सवार रहेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रङको कारबाट गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार आइतबार राति इलाका प्रहरी कार्यालय जानकी टोलाबाट खटिएको टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको उक्त कारलाई रोकी नियमित जाँच गरेको थियो।
जाँचका क्रममा कारभित्र विभिन्न स्थानमा लुकाएर राखिएको १० वटा पोकामा प्याक गरिएको १०२ किलो ६ सय ३८ ग्राम गाँजा फेला परेपछि चालक बर्मालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजा, प्रयोग गरिएको कार तथा पक्राउ परेका बर्मालाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुन सक्ने आशंका गरिएको भए पनि यसको वास्तविक स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्ति वा सञ्जालको पहिचान गर्न अनुसन्धान जारी रहेको छ।
पर्सा–भारत सीमालाई प्रयोग गरी हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी र सवारी जाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति वा सञ्जालको खोजीसमेत तीव्र बनाइएको प्रहरीको भनाइ छ।
हालै गृहमन्त्री सुधन गुरुङले पर्सा जिल्लाका सुरक्षा निकायको छड्के अनुगमन गर्दै सीमा सुरक्षा, तस्करी नियन्त्रण र लागूऔषध ओसारपसार रोक्न प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए। त्यसयता प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउँदै आएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्