प्रतिनिधिसभाको बैठकमा निरन्तर उठाइएका विषयमा सरकारले कुनै सम्बोधन नगरेको भन्दै विपक्षी दलका सांसदहरूले बिहीबार विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले सीमा सुरक्षा लगायत आफूहरूले यसअघि उठाएका विभिन्न विषयमा सरकारले चासो नदिएको भन्दै उभिएर विरोध जनाएका हुन्।
विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढालाई बोल्न समय दिएका थिए।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाउँदै संसद्मा पटकपटक उठाइएका विषयमा सरकार जिम्मेवार नदेखिएको बताए।
उनले राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिन गर्न सरकारसँग माग गरे।
बुढाले यसअघि भएको सम्झौता खारेज गरी पुरानै कम्पनीलाई बढी मूल्यमा ठेक्का दिन चलखेल भइरहेको आरोपसमेत लगाए। यस्तो विषयले सार्वजनिक खरिद प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै उनले सरकारबाट स्पष्ट जवाफ र आवश्यक छानबिन हुनुपर्ने धारणा राखे।
विपक्षी दलले संसद्मा उठाइएका विषयमा सरकारको औपचारिक धारणा र आवश्यक कदम नआएसम्म आफ्नो आवाज निरन्तर उठाइरहने संकेत दिएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्