७२ वर्षको उमेरमा राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेताको उपाधि जितेका वरिष्ठ अभिनेता नीर शाहले अभिनयलाई उमेरसँग जोडेर मूल्यांकन गर्न नहुने बताएका छन् ।
फिल्म ‘परान’मा शक्तिशाली शीर्ष भूमिका निर्वाह गर्दै पहिलो पटक उत्कृष्ट अभिनेता (प्रोटागोनिस्ट) विधामा अवार्ड जितेका नीर शाह का लागि यो उपलब्धि उनको लामो फिल्म करियरको महत्वपूर्ण क्षण बनेको छ । निर्देशकका रूपमा समेत परिचित शाहले यसअघि निर्देशन, खलपात्र र कमेडी विधामा अवार्ड जितिसकेका भए पनि शीर्ष अभिनेता विधामा भने यो पहिलो सफलता हो ।
विशाल बजारको लायन्स क्लबबाट सुरु भएको नेपाली फिल्म अवार्डको इतिहास हुँदै राष्ट्रिय चलचित्र अवार्डसम्म आइपुग्दा शाहले प्राप्त गरेको यो सम्मानले पात्र-केन्द्रित अभिनयलाई मान्यता दिएको रूपमा पनि लिइएको छ ।
शाहले अनलाइनखबरसँग कुरा गर्दै भने, “३० को दशकमा मैले वासुदेवबाट पहिलो पटक उत्कृष्ट निर्देशनमा अवार्ड पाएको थिएँ, त्यतिबेला जति खुसी भएको थिएँ, अहिले पनि त्यत्तिकै खुसी छु । काम र पेशा पुरस्कृत हुँदा खुसी नहुने त कुरा नै हुँदैन।”
उनले अवार्ड व्यक्तिगत मात्र नभई समग्र टिमको मेहनतको परिणाम भएको बताए । “यो भूमिकाका लागि जसजसले मिहिनेत गर्नुभएको थियो, सबैजना अवार्डका भागिदार हुनुहुन्छ,” उनले भने ।
‘परान’मा आफ्नो भूमिकालाई लिएर शाहले आफूले केवल जिम्मेवारी पूरा गरेको अनुभव भएको बताए । “आफ्नो भूमिका राम्रोसँग गर्न सकेको कारणले पाएको हुँ जस्तो लाग्छ। यसले ऊर्जा त थप्छ, तर करियर क्लाइमेक्समा पुगेजस्तो चाहिँ होइन,” उनले स्पष्ट पारे ।
उनका अनुसार दर्शकको प्रतिक्रिया नै कलाकारका लागि सबैभन्दा ठूलो पुरस्कार हो । “दर्शकको अवार्ड नै ठूलो कुरा हो,” उनले भने ।
शाहले अभिनयलाई उमेरको आधारमा होइन, पात्रको आवश्यकताका आधारमा हेर्नुपर्नेमा जोड दिए । “परानको रोल त्यही उमेरको मान्छेले खेल्ने हो। उसले न्याय गर्न सकेको छ कि छैन भन्ने कोणबाट मूल्यांकन गर्नुपर्छ,” उनले भने ।
फिल्म परान मार्फत उनले जीवनका पछिल्ला चरणका पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै समीक्षक र दर्शकहरूले पनि प्रशंसा गरेका छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्