बाराको निजगढ नगरपालिका–१ सिंगौलमा सोमबार एक स्थानीयमाथि धारिलो घरेलु हतियार दाउ प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार स्थानीय ५० वर्षीय धनबहादुर घिमिरेले सोही ठाउँका ४० वर्षीय मानबहादुर योञ्जनमाथि मासु काट्ने धारिलो हतियार दाउले प्रहार गरेका हुन्। प्रहारबाट योञ्जनको गर्दनमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।
घटनालगत्तै गम्भीर घाइते भएका योञ्जनलाई उद्धार गरी निजगढस्थित सिटी अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि परिवारले हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार घाइते योञ्जनको अवस्था हाल खतरामुक्त रहेको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। स्थानीयवासीका अनुसार घटना हुनुअघि घिमिरे र योञ्जनबीच कुनै विवाद वा भनाभन भएको जानकारी छैन। योञ्जन हार्डवेयर पसलमा सिमेन्टको पैसा तिर्न गएका बेला त्यहाँ रहेका घिमिरेले अचानक दाउ प्रहार गरेको स्थानीयले बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट सिंगौलबाट खटिएको संयुक्त प्रहरी टोलीले आरोपित घिमिरेलाई तत्काल नियन्त्रणमा लिएको थियो। उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्