नेपाल–भारत सीमामा करिब दुई किलो अफिमसहित दुई नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको लंगडा चोकका ४० वर्षीय दिनेश राम, ४१ वर्षीय सोना लाल पासवान तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रअन्तर्गत भवानीपुर गाउँका ४० वर्षीय लालबाबु सिंह रहेका छन्।
सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनले दिएको जानकारीअनुसार गोप्य सूचनाका आधारमा शनिबार अपराह्न कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ३८१ नजिक संयुक्त अपरेसन सञ्चालन गरेको थियो।
संयुक्त टोलीले नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी हुँदै गरेको अवस्थामा प्याकिङसहित करिब दुई किलो अफिम र एउटा हिरो होन्डा मोटरसाइकलसहित दिनेश राम र सोना लाल पासवानलाई नियन्त्रणमा लिएको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त अफिम तस्करीमा भारतीय नागरिक लालबाबु सिंहको समेत संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले बताएका छन्।
नेपाल–भारत खुला सीमालाई प्रयोग गरी हुने लागुऔषध तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी तथा संयुक्त सुरक्षा अपरेसनलाई थप प्रभावकारी बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्