Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नेपालमै अत्याधुनिक आनुवंशिक परीक्षणको हब बन्दै नेशनल प्याथ ल्याब

कुनै समय जटिल स्वास्थ्य परीक्षणका लागि विदेशका प्रयोगशालाको भर पर्नुपर्ने अवस्था थियो। एउटा रिपोर्टका लागि हप्तौं प्रतीक्षा गर्नुपर्ने, ठूलो आर्थिक भार व्यहोर्नुपर्ने र उपचारको निर्णयसमेत ढिलो हुने समस्या बिरामीहरूले भोग्दै आएका थिए। तर अहिले नेपालमै अत्याधुनिक प्रविधिसहितका परीक्षण सेवा उपलब्ध हुन थालेसँगै यस्तो बाध्यता क्रमशः हट्दै गएको छ।

यसको उदाहरणका रूपमा ललितपुरको लगनखेलस्थित नेशनल प्याथ ल्याबको ‘सेन्टर फर साइटोजेनेटिक्स एण्ड मोलिक्युलर प्याथोलोजी’लाई लिन सकिन्छ। सञ्चयकोष भवनको चौथो तलामा रहेको यो केन्द्रले मोलिक्युलर डायग्नोस्टिक्स, साइटोजेनेटिक्स, पीसीआर तथा विभिन्न आनुवंशिक परीक्षणहरू नेपालमै उपलब्ध गराउँदै आएको छ।

प्रयोगशालामा आइपुग्ने प्रत्येक नमुना केवल परीक्षण सामग्री नभई बिरामीको उपचार, भविष्यको निर्णय र जीवनरक्षासँग प्रत्यक्ष जोडिएको विषय हुने भएकाले प्रत्येक चरणमा वैज्ञानिक मापदण्डअनुसार काम गरिने संस्थाको दाबी छ। देशभरबाट आएका नमुनाहरू दर्ता, विश्लेषण, पुनः परीक्षण तथा प्रमाणीकरणको प्रक्रिया पार गर्दै अन्तिम रिपोर्ट तयार गरिन्छ।

नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार संस्थाले सुरुदेखि नै सही र विश्वसनीय रिपोर्टलाई प्राथमिकतामा राखेको छ। उनका अनुसार देशभर रहेका सेवा केन्द्रहरूलाई एउटै गुणस्तर प्रणालीमा आबद्ध गरेर सेवा प्रदान गरिँदै आएको छ।

सानो स्तरबाट यात्रा सुरु गरेको नेशनल प्याथ ल्याबले हाल देशभर १२ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। अत्याधुनिक ‘ए ग्रेड’ प्रयोगशाला र लगनखेलस्थित मोलिक्युलर तथा साइटोजेनेटिक्स केन्द्रमार्फत हजारौं सेवाग्राहीले सेवा लिइरहेका छन्।

विदेश पठाउनुपर्ने परीक्षण अब नेपालमै

नेशनल प्याथ ल्याबले उपलब्ध गराइरहेको साइटोजेनेटिक्स तथा आनुवंशिक परीक्षणहरूले बाँझोपन, बारम्बार गर्भ खेर जाने समस्या, जन्मजात आनुवंशिक अवस्था तथा केही प्रकारका क्यान्सरसँग सम्बन्धित परिवर्तन पहिचान गर्न सहयोग पुर्‍याउने बताइएको छ।

प्रयोगशालाका कन्सल्टेन्ट साइटोजेनेटिसिस्ट डा. कृष्णकुमार महर्जनका अनुसार विगतमा विदेश पठाउनुपर्ने धेरै आनुवंशिक परीक्षण अहिले नेपालमै गर्न सकिने अवस्था बनेको छ।

उनले नेपालमै सेवा उपलब्ध हुँदा बिरामीलाई छिटो निदान, कम खर्च र उपचार सुरु गर्न सहज भएको बताए। आधुनिक जेनेटिक प्रविधिले रोगलाई आणविक तहसम्म अध्ययन गर्न सहयोग गर्ने भएकाले उपचार व्यवस्थापन थप प्रभावकारी बन्ने उनको भनाइ छ।

रिपोर्ट मात्र होइन, उपचारको आधार

प्रयोगशालाले हेमाटोलोजी, बायोकेमिस्ट्री, हर्मोन तथा इम्युनोलोजी लगायतका विभागमार्फत विभिन्न प्रकारका परीक्षण सेवा प्रदान गर्दै आएको छ। रक्तअल्पता, संक्रमण, मधुमेह, मिर्गौला, कलेजो, थाइराइड, भिटामिन तथा हर्मोनसम्बन्धी परीक्षणहरू नियमित रूपमा गरिन्छन्।

प्रयोगशालाका प्रमुख तथा प्याथोलोजिस्ट डा. जीवन अधिकारीका अनुसार प्रत्येक रिपोर्ट विशेषज्ञद्वारा पुनः समीक्षा र प्रमाणीकरण गरिएपछि मात्र जारी गरिन्छ। उनका अनुसार रिपोर्ट अन्तिम नतिजा नभई बिरामीको उपचार यात्राको महत्वपूर्ण आधार भएकाले गुणस्तरमा कुनै सम्झौता नगरिँदैन।

स्वास्थ्य सचेतनामा पनि सक्रिय

नेशनल प्याथ ल्याबले प्रयोगशाला सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धिका लागि ‘हेल्थ पोडकास्ट’ समेत सञ्चालन गरिरहेको छ। विभिन्न रोग, परीक्षण, जीवनशैली, रोकथाम तथा आधुनिक उपचार प्रविधिबारे विशेषज्ञ चिकित्सकसँग संवाद गरी आम नागरिकलाई वैज्ञानिक तथा विश्वसनीय जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

प्रबन्ध निर्देशक जोशीका अनुसार संस्था केवल परीक्षण सेवा प्रदायकमा सीमित नरही स्वास्थ्यसम्बन्धी सही सूचना जनमानससम्म पुर्‍याउने अभियानमा पनि सक्रिय छ।

गुणस्तर नियन्त्रणमा विशेष जोड

प्रयोगशालाको अर्को महत्वपूर्ण पक्ष यसको गुणस्तर नियन्त्रण प्रणाली रहेको बताइएको छ। नमुना दर्तादेखि अन्तिम रिपोर्ट जारी हुनेसम्म प्रत्येक चरणमा वैज्ञानिक मापदण्ड पालना गरिन्छ। अत्याधुनिक स्वचालित उपकरण, दक्ष जनशक्ति, आन्तरिक तथा बाह्य गुणस्तर मूल्यांकन तथा निरन्तर निगरानीमार्फत रिपोर्टको विश्वसनीयता सुनिश्चित गरिने संस्थाको भनाइ छ।

आधुनिक प्रविधिसँगै अगाडि

स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, जेनेटिक मेडिसिन र मोलिक्युलर डायग्नोस्टिक्सजस्ता प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला नेशनल प्याथ ल्याबले पनि आधुनिक प्रविधिमा लगानी विस्तार गरिरहेको जनाएको छ।

प्रयोगशालामा उपलब्ध ३० भन्दा बढी प्रकारका अन्कोजन प्यानल परीक्षणहरूले क्यान्सरसँग सम्बन्धित आनुवंशिक परिवर्तनहरूको अध्ययनमा सहयोग पुर्‍याउँछन्। त्यस्तै, गर्भावस्थामा गरिने एनआईपीटी परीक्षणले डाउन सिन्ड्रोमलगायत केही क्रोमोसोमसम्बन्धी अवस्थाको जोखिम पहिचान गर्न मद्दत गर्ने बताइएको छ। प्रजनन स्वास्थ्यसँग सम्बन्धित पीजीटीए प्रविधि पनि उपलब्ध रहेको संस्थाले जनाएको छ।

आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतासहित नेशनल प्याथ ल्याब नेपालमै अत्याधुनिक स्वास्थ्य परीक्षण सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको दाबी गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्