Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ : मन्त्री गीता चौधरी

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूलाई अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी त्यसको प्रत्यक्ष लाभ किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिनुभएको छ।

नार्कद्वारा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि अनुसन्धानको प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा प्रत्यक्ष देखिनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषि रूपान्तरणको मुख्य आधार नै वैज्ञानिक अनुसन्धान रहेको बताउँदै वैज्ञानिकहरूको भूमिका कार्यालय वा प्रयोगशालामा मात्र सीमित नहुने स्पष्ट पार्नुभयो।

“तपाईंहरू पुग्ने प्रत्येक अनुसन्धान केन्द्र र किसानको खेत नै जीवित प्रयोगशाला हो। किसानका समस्या पहिचान गरेर वैज्ञानिक समाधान दिनु नै तपाईंहरूको मुख्य जिम्मेवारी हो,” मन्त्री चौधरीले भन्नुभयो।

उहाँले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक उद्देश्य पूरा नहुने उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

यसैबीच, मन्त्री चौधरीले किसानले उत्पादन गरेको खसी बोकाको उचित मूल्य सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ।

यस सम्बन्धमा किसानबाट व्यापारी हुँदै बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले प्राप्त गर्ने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ।

किसानले उत्पादन गरेको खसी बोकाको न्यायोचित मूल्य सुनिश्चित गर्दै उपभोक्तासम्म सहज, पारदर्शी र व्यवस्थित आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखी आवश्यक नीतिगत तथा समन्वयात्मक पहलका सम्बन्धमा थप निर्णय छिट्टै सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्