नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको मार्कीचोक–भरतपुर खण्डमा आगामी २३ असारदेखि विद्युत् प्रवाह गरी परीक्षण सुरु गर्ने भएको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सो दिनदेखि २२० किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरेर प्रसारण लाइनको परीक्षण गरिने जनाएको हो। (सूचनामा उल्लेख भएको ‘२३३ असार’ टाइप त्रुटि रहेको देखिन्छ, सही मिति २३ असार हो।)
युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भइसकेको छ।
आयोजना प्रमुख नारायण रेग्मीका अनुसार तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि उक्त लाइन राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने लक्ष्य राखिएको छ।
प्राधिकरणले विद्युत् प्रवाह सुरु भएसँगै प्रसारण लाइन तथा त्यससँग सम्बन्धित संरचनाहरू उच्च जोखिमयुक्त हुने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै वस्तुले प्रसारण लाइन वा टावर नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर नजिक चराउन वा छोड्न नदिन अनुरोध गरिएको छ।
यो प्रसारण लाइन तनहुँ, गोरखा र चितवनका विभिन्न क्षेत्र हुँदै गुज्रिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ३, ४ र ५, गोरखा नगरपालिका–१४ को याङ्कोट क्षेत्र तथा चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत जुगेडी र चौकीडाँडा तथा इच्छाकामना गाउँपालिका–६ को रिग्दीखोला क्षेत्र यस प्रसारण लाइनको प्रभाव क्षेत्रमा पर्छन्।
मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको निर्माण ठेक्का चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले पाएको थियो। तर कम्पनीले छनोट गरेको सब–कन्ट्र्याक्टरबाट समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सब–कन्ट्र्याक लिएर निर्माण कार्य पूरा गरेका थिए। प्रसारण लाइन सञ्चालनमा आएपछि मर्स्याङ्दी करिडोरबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप प्रभावकारी रूपमा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्