देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको हो।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसम विभागले वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सर्वसाधारणलाई विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।
अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना, भारी वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको आग्रह
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्