नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठ समर्थकको ठूलो भीड, बाजागाजा तथा र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। र्यालीका क्रममा ‘विकासका लागि किसान’, ‘बारा–४ मा एमाले’ जस्ता नारासमेत लगाइएका थिए।
बारा–४ का निर्वतमान संघीय सांसदसमेत रहेका श्रेष्ठले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। उनले अघिल्लो कार्यकालमा सुरु गरिएका तर विभिन्न कारणले अधुरा रहेका विकास निर्माणका काम पूरा गर्न पुनः जनताले अवसर दिने विश्वास व्यक्त गरे।
श्रेष्ठले बारा–४ को सडक, सिँचाइ, खानेपानी, शिक्षा र रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना अघि बढाउने प्रतिबद्धता जनाए। “जनताको विश्वास र साथ पाएको खण्डमा क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्नेछु,” उनले भने।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित भएका श्रेष्ठ केही समयअघि मात्रै नेकपा (एमाले) मा फर्किएका हुन्। एमाले प्रवेशपछि बारा–४ बाट उनलाई पार्टीको आधिकारिक उम्मेदवार बनाइएको हो।
स्थानीयस्तरमा प्रभावशाली नेताका रूपमा परिचित श्रेष्ठको उम्मेदवारीसँगै बारा–४ को चुनावी माहोल थप तातेको छ। प्रमुख दलका उम्मेदवार मैदानमा उत्रिँदै जाँदा यस क्षेत्रको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
निर्वाचन नजिकिँदै जाँदा बारा–४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने मतदातामाझ उम्मेदवारका प्रतिबद्धता र एजेन्डामाथि चासो बढ्दै गएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्