स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिँदै आइतबार गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ।
शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिनुभएको थियो। त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्री गुरुङसँग पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको हो।
निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना कानुनअनुसार तत्काल हटाउने निर्णय गरिएको छ। गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरी अतिक्रमित संरचना खाली गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको बताउँदै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सरकारी अस्पतालको सम्पत्ति संरक्षण स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिनुभयो।
अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्।
यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गर्नुभएको थियो। साथै आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सरसफाइ, पूर्वाधार व्यवस्थापन, निर्माण कार्य समयमै सम्पन्न गर्न र अतिक्रमण हटाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको थियो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्