शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
बिहीबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले हालै नियुक्त भएका अध्यक्ष थापालाई शपथ गराउनुभएको हो।
यसैगरी, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा त्रिवि सेवा आयोगका नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनुभयो।
शपथ ग्रहणपछि अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
उहाँले आफ्नो कार्यकालमा त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम विश्वविद्यालय निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, सेवा आयोगको अध्यक्षजस्तो जिम्मेवार पदमा नियुक्त गरेकोमा नेपाल सरकारप्रति आभार पनि प्रकट गर्नुभयो।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ अध्यक्ष तथा सदस्य नियुक्त गरिएको जनाइएको छ।
शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई नियुक्त गर्नुभएको हो। समितिले गत जेठ महिनामा इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिनुभएको छ। उहाँ सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो।
थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा पनि उहाँले योगदान दिनुभएको थियो।
हाल थापा नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध रहँदै आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन र सार्वजनिक नीतिका क्षेत्रमा काम गर्दै आउनुभएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्