Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

एक हप्ता नबित्दै सर्पदंशबाट जीतपुरसिमरामा अर्को बालिकाको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशका घटना दोहोरिन थालेका छन्। एक हप्ताअघि चार वर्षीया बालिकाको ज्यान गएको घटनाको पीडा सेलाउन नपाउँदै बिहीबार राति फेरि विषालु सर्पले डसेर पाँच वर्षीया बालिका दियान्सी रानामगरको मृत्यु भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१४ मौलापुर निवासी कृष्णबहादुर र दिपिका रानामगरकी पाँच वर्षीया छोरी दियान्सीलाई घर अगाडि बसिरहेको अवस्थामा राति करिब ८ बजे सर्पले डसेको परिवारले जनाएको छ।

सर्पदंशपछि तत्काल उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ। बालिकाको शव राति नै घर ल्याइएको थियो भने शुक्रबार बिहान प्रहरीलाई घटनाबारे जानकारी गराइएको हो।

रजघट्टास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

दियान्सी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन्। उनको असामयिक निधनप्रति शोक व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका छन्।

यसअघि असार ८ गते जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि विषालु सर्पले डसेर मृत्यु भएको थियो।

एक साताभित्रै दुई बालिकाले सर्पदंशका कारण ज्यान गुमाएपछि स्थानीयवासी त्रसित बनेका छन्। वर्षायामसँगै सर्पदंशका घटना बढ्दै गएकाले जनचेतना अभिवृद्धि, समयमै उपचारको पहुँच र आवश्यक प्रतिकारात्मक उपाय प्रभावकारी रूपमा लागू गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्