Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा–२३ मा सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह

जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा नवनिर्मित सुविधासम्पन्न वडा कार्यालय भवन सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्।

स्थानीय तहको निर्वाचनपछि गठन भएको करिब नौ वर्षपछि वडा नम्बर २३ ले आफ्नै प्रशासनिक भवन पाएको हो। नयाँ भवन सञ्चालनसँगै वडावासीले थप सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख भोला प्रसाद अधिकारीले विगतमा भाडा तथा अन्य संरचनामा वडा कार्यालय सञ्चालन गर्नुपरेको स्मरण गर्दै आफ्नै भवन निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले हालसम्म उपमहानगरपालिकाका १९ वटा वडा कार्यालय भवन उद्घाटन भइसकेको र बाँकी भवनहरूको निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।

नगरप्रमुख राजन पौडेलले नागरिकलाई वडा स्तरबाटै गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार हाल उपमहानगरभित्र वडा नम्बर १२ को कार्यालय मात्रै भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने अन्य वडा कार्यालयलाई स्थायी र व्यवस्थित बनाउने अभियान जारी छ।

वडा नम्बर २३ का वडाध्यक्ष मुस्ताकिम अन्सारीले पुरानो तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा वर्षायाममा छाना चुहिने लगायतका समस्या भोग्नुपरेको उल्लेख गर्दै नयाँ भवन सञ्चालनपछि प्रशासनिक सेवा थप छरितो र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे।

वडाध्यक्ष कैमुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव संगीता चौधरीले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, जनप्रतिनिधि, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

स्थानीयवासीले नयाँ वडा कार्यालय भवन सञ्चालनसँगै नागरिक सेवा प्रवाहको गुणस्तरमा सुधार आउने र प्रशासनिक कामकाज अझ सहज हुने अपेक्षा व्यक्त गरेका छन्। उद्घाटनपछि अतिथिहरूले भवनको अवलोकनसमेत गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्