Thursday, September 03, 2026
बिहीबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

गृहमन्त्री गुरुङको पहलमा जनकपुरधाममा सर्वपक्षीय संवाद, हिन्दु–मुस्लिम विवाद समाधानतर्फ महत्वपूर्ण पहल

जनकपुरधाम, १६ साउन — केही दिनयता जनकपुरधाममा देखिएको हिन्दु–मुस्लिम समुदायबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

गृहमन्त्री सुधन गुरुङको निरन्तर पहल र सक्रियतामा जिल्ला प्रशासन कार्यालय, जनकपुरधाममा आयोजित छलफलमा संघीय सरकार, मधेश प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरू सहभागी भएका थिए।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा संघीय गृहमन्त्री सुधन गुरुङको सहभागिता रहेको थियो। छलफलमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा तथा सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको थियो। सरकारले उक्त मागपत्र बुझ्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय र छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सरकारले प्राप्त मागहरूलाई वर्तमान परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षहरूसँग परामर्श गरी आवश्यक निर्णय लिने जनाएको छ। बैठकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति–सुरक्षा र जनकपुरधामको सामान्य अवस्थालाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।

गृहमन्त्री गुरुङको पहलमा भएको यस संवादलाई पछिल्लो समय देखिएको हिन्दु–मुस्लिम विवादलाई वार्ता, सहमति र आपसी समझदारीमार्फत समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सरकारले सबै पक्षलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न तथा समस्या समाधानका लागि संवादको वातावरणलाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ।

गृहमन्त्री गुरुङले सुरुदेखि नै सबै राजनीतिक दल, सरोकारवाला निकाय र समुदायका प्रतिनिधिलाई एकै ठाउँमा ल्याएर निरन्तर संवादको प्रयास गर्दै आएका थिए। आजको छलफलले सरकार सबै पक्षसँग समान व्यवहार गर्दै सहकार्य र सहमतिका आधारमा समाधान खोज्न प्रतिबद्ध रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्