उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठन भएयताको पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कार्यहरूको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले बुधबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयको १०० दिने कार्यप्रगति विवरण बुझाउँदै यस अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापन, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका काम अघि बढाइएको बताइन्।
प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले निर्धारण गरेका प्राथमिकताअनुसार मन्त्रालयले पहिलो १०० दिनभित्र परिणाममुखी कार्यसम्पादन गरेको उल्लेख गरिन्। देशको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने र नागरिकलाई सुशासनको अनुभूति गराउने उद्देश्यका साथ मन्त्रालयका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्यालयमा पेस गरिएको विवरणमा विभिन्न ऐन तथा नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानका लागि कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार अनुगमनलाई तीव्रता दिइएको उल्लेख गरिएको छ।
मन्त्रालयले सरकारको १०० दिने कार्यकालका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा औद्योगिक उत्पादन वृद्धि, व्यापार विस्तार, लगानी प्रवर्द्धन र उपभोक्ता अधिकार संरक्षणका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्