श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले चर्चित भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना सार्वजनिक गरेका छन्।
आइतबार बेलुका राईले आफ्नो सामाजिक सञ्जालमा अभिनेता प्रभासप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अंग्रेजीमा, "Rest in Peace, Prabhas. You were a great actor." लेखेका थिए। तर प्रभासको मृत्यु भएको भन्ने कुनै आधिकारिक पुष्टि नभएको अवस्थामा गरिएको उक्त पोस्टले सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै व्यापक आलोचना भएको थियो।
राईको पोस्टमा सयौं प्रयोगकर्ताले तथ्य जाँच नगरी यस्तो संवेदनशील विषयमा टिप्पणी गर्नु गैरजिम्मेवार भएको बताएका थिए। कतिपयले "अल्पज्ञान खतरनाक हुन्छ" भन्दै टिप्पणी गरेका थिए भने जिम्मेवार जनप्रतिनिधिबाट यस्ता अपुष्ट सूचना सार्वजनिक हुनु अनुचित भएको प्रतिक्रिया दिएका थिए।
आलोचना बढेपछि राईले सोमबार बिहान उक्त पोस्ट हटाएका छन्। पोस्ट हटाउनुअघि त्यसमा हजारौं लाइक, कमेन्ट र सयौं सेयर भइसकेका थिए।
अभिनेता प्रभास सकुशल रहेका छन् र उनको निधन भएको भन्ने दाबी असत्य रहेको पुष्टि भइसकेको छ। यो घटनाले सामाजिक सञ्जालमा कुनै पनि सूचना सार्वजनिक गर्नुअघि तथ्यको पुष्टि गर्नु आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्