श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनको बहसलाई अन्यथा लिन नसकिने बताए पनि संविधानका आधारभूत व्यवस्थामाथि चलखेल गर्ने प्रयास भए त्यसले मुलुकलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
उनले संविधान संशोधनको विषयमा विभिन्न तहमा भइरहेको छलफलप्रति आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गर्दै संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता मूलभूत व्यवस्थामा हस्तक्षेप नगर्न आग्रह गरे।
साम्पाङले भने, "यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको कुराकानी भइरहेको छ, त्यसबारे हामीलाई जानकारी प्राप्त छ। संघीयता, समावेशी र धर्मनिरपेक्षता, यी तीनवटा विषयमा तलमाथि हुने गरी दख्खल गर्न खोजियो भने देशमा फेरि दुर्घटना निम्तिन सक्छ। सचेत रूपमा होस् वा अन्जानमै, त्यस्तो कदमले मुलुकलाई गलत दिशातर्फ लैजान सक्छ।"
उनले संविधानमा समयानुकूल सुधार आवश्यक हुन सक्ने स्वीकार गरे पनि त्यसका नाममा संविधानका आधारभूत सिद्धान्त परिवर्तन गर्ने प्रयास उचित नहुने धारणा राखे।
साम्पाङले आवश्यक कानुनी तथा प्रशासनिक सुधार गर्न सकिने भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि प्रश्न उठाउने कदमले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्