Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

कैलालीमा सेनाको तालिमका क्रममा ग्रिनेड विस्फोट, एक सैनिकको मृत्यु

कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना अधिकारी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गे ब्यारेकमा बिहीबार बिहान नियमित अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो।

विस्फोटमा गम्भीर घाइते भएका हुद्दा हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।

घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। लम्कीस्थित लालरत्न अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लालरत्न अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको डीएसपी तिमिल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार नेपाली सेनाले बिहीबार बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई घटनाबारे जानकारी गराएको थियो।

ग्रिनेड विस्फोट हुनुको कारण खुलेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा थप अनुसन्धान गरिरहेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्