काठमाडौं, १९ साउन — सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ। मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग भएको छलफलमा उहाँले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै यस्ता संवादलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
मन्त्री पोखरेलले अन्तरमन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सरकारी सूचना प्रवाहलाई अझ चुस्त, विश्वसनीय र प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। साथै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीतिअनुसार महत्वपूर्ण कामको थालनी गरिसकेको पनि उहाँले बताउनुभयो।
छलफलमा सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना संकलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार–सञ्चारमाध्यमबीचको समन्वयलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न, सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तरसंवादको वातावरण बनाउन सुझाव दिएका थिए। उनीहरूले सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले पत्रकारसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, सरोज गौतम तथा मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए। कार्यक्रममा कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, नेपालखबर, क्लिकमाण्डु, न्यूज एजेन्सी नेपाल, नेपाल टाइम्स, शिलापत्र, बाह्रखरीलगायत राष्ट्रिय सञ्चारमाध्यमका राजनीतिक बिट हेर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा, सञ्चार तथा अन्य समसामयिक विषयमा सञ्चारमाध्यम, पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता तथा प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।
मन्त्रालयले यस्ता अन्तरक्रियाले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्