Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

अर्थतन्त्र विस्तारका लागि सरकार–बैंक सहकार्य अपरिहार्य : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ, १९ साउन — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरी उच्च आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

मंगलबार अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग आयोजना गरेको छलफलमा अर्थमन्त्री वाग्लेले लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र बैंकहरूबीच हातेमालो आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले बैंकहरूले भोगिरहेका नीतिगत तथा व्यावहारिक समस्याबारे खुलस्त रूपमा सुझाव दिन आग्रह गर्दै सरकारले इमानदारीपूर्वक समाधान खोज्ने प्रतिबद्धता जनाउनुभयो। अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि कर्जा विस्तार र निजी क्षेत्रको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

“बैंकहरूले कर्जा विस्तार गर्न किन नसकिरहेका छन्? सरकारले सहजीकरण गर्नुपर्ने विषय छन् भने स्पष्ट रूपमा भन्नुहोस्, हामी आवश्यक कदम चाल्छौँ,” मन्त्री वाग्लेले भन्नुभयो।

छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने धारणा वास्तविकतासँग मेल नखाने बताएका छन्। उनीहरूले बैंकिङ क्षेत्र केही नियामकीय चुनौतीका कारण दबाबमा रहे पनि समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

बैंकरहरूले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण उल्लेखनीय रूपमा बढेको र अन्य उत्पादनमूलक क्षेत्रमा पनि लगानीको माग क्रमशः बढ्न थालेको बताए। साथै, राष्ट्र बैंक र सरकारले केही नीतिगत सहजीकरण गरे अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने सुझाव दिए।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा भइरहेको लगानीलाई थप सहज बनाउने नीति आवश्यक रहेको बताउनुभयो। ठूला पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको विश्वास कायम राख्न सरकार सक्रिय हुनुपर्ने उहाँको सुझाव थियो।

सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको वर्तमान सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक अवस्था भन्दै बाहिर प्रचार गरिएजस्तो गम्भीर संकट नरहेको धारणा राख्नुभयो।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले व्यवसायीको आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न र बैंकहरूको कर्जा प्रवाह क्षमता विस्तारका लागि राष्ट्र बैंकबाट नीतिगत सहजीकरण आवश्यक रहेको बताउनुभयो।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ग्रामीण तथा विपन्न वर्गसम्म कर्जा विस्तार गर्नुपर्नेमा जोड दिँदै सरकारले पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिनुभयो। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उद्योगी–व्यवसायीहरू नयाँ आर्थिक वर्षमा लगानी विस्तारप्रति उत्साहित देखिन थालेको उल्लेख गर्दै यसलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउनुभयो।

बैठकमा सहभागी अन्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले कोभिडकालीन कर्जाको व्यवस्थापन, खराब कर्जाको प्रोभिजनिङ, चालु पुँजी कर्जाको सीमा, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, एसएमई क्षेत्रमा लगानी विस्तार तथा व्यवसायीको मनोबल बढाउने नीति आवश्यक रहेकोमा जोड दिएका थिए।

छलफलमा सरकार र बैंकिङ क्षेत्रबीच नियमित समन्वय गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्