सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि आवश्यक आधार तयार हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा यसअघि विभिन्न चरणमा नीतिगत तयारी र निर्णय भए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको थिएन।
सरकारको पछिल्लो स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना सुदृढ गर्ने, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक चिकित्सक, प्राध्यापक र अन्य जनशक्तिको व्यवस्थापन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयले सुदूरपश्चिम प्रदेशमा उच्चस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार हुनुका साथै प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्