Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा कुलमान घिसिङद्वारा धन्यवाद व्यक्त

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। निर्णयअनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणबाट १६ जना सहिद परिवारका सदस्यले करार नियुक्ति प्राप्त गरेका छन्।

यस निर्णय कार्यान्वयनमा आएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी र सन्तुष्टि व्यक्त गरेका छन्।

घिसिङले आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा गरिएको निर्णयले सार्थकता पाएको बताएका छन्। उनले आफ्नै अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सहिद परिवारका सदस्यलाई रोजगारी दिने महत्त्वपूर्ण निर्णय गरेको स्मरण गराएका छन्।

तत्कालीन समयमा मन्त्रालयमा प्राप्त २७ वटा निवेदनका आधारमा छानबिन गरी सहिद परिवारका सदस्यहरूको पहिचान र यकिन गरिएको थियो। त्यसपछि उनीहरूको शैक्षिक योग्यता र दक्षताअनुसार प्राधिकरणका विभिन्न कार्यालयमा बढीमा तीन तहसम्मको करार नियुक्ति दिने व्यवस्था गरिएको थियो।

यो निर्णय सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको पूर्वसम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा सहिद परिवारका सदस्यहरूले दिएको आधिकारिक निवेदनका आधारमा गरिएको जनाइएको छ।

फेसबुक पोस्टमार्फत घिसिङले देश र परिवर्तनका लागि सहिदहरूले गरेको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै सहिद परिवारप्रति राज्यको न्यूनतम उत्तरदायित्व निर्वाह गर्ने यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबै व्यक्ति तथा निकायलाई धन्यवाद दिएका छन्।

सहिद परिवारलाई रोजगारी दिने कदमले पीडित परिवारको घाउमा केही हदसम्म मलम लगाउने र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्