Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्रकुमार गुप्ता निर्वाचित, प्यानलको क्लिन स्वीप

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी मनोजकुमार गुप्तालाई ३३० मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन परिणामअनुसार गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्ताले १९९ मत प्राप्त गरेका छन्। गुप्ताको नेतृत्वमा रहेको प्यानलले संघको निर्वाचनमा ‘क्लिन स्वीप’ गर्दै अधिकांश पदमा विजय हासिल गरेको छ।

वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार निर्वाचित भएका छन्। उनले ५०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष कुशवाहाले १९५ मत पाएका छन्। वाणिज्यतर्फको उपाध्यक्षमा रामबाबु कलवार ५११ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी प्रमोद साह तेलीले १११ मत प्राप्त गरेका छन्।

महासचिव पदमा प्रकाश गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनले ५१२ मत प्राप्त गर्दा सुशील शर्माले १८८ मत पाएका छन्। कोषाध्यक्षमा रिना रौनियार पुरी निर्वाचित भएकी छन्। उनले ४१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विन्देश्वरी प्रसाद साह कलवारले २६७ मत प्राप्त गरेका छन्।

वाणिज्यतर्फको सचिव पदमा रिता कंडेल विजयी भएकी छन्। उनले २९७ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी प्रदीप कुमारले १७६ मत र शान्ताकुमारी बजगाईं (रिना) ले १३६ मत प्राप्त गरेका छन्।

वाणिज्यतर्फको सदस्य पदमा अमरेन्द्रकुमार साह कलवार (४३९), विभा गुप्ता (४२५), मुकुन्द रिजाल (३९३), बलराम पौडेल (३५८), विजयकुमार गुप्ता (३४९), नवरत्नप्रसाद कलवार (३४२) र मनोहरबाबु गुप्ता (३११) मतसहित निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि ६ पदाधिकारी र ७ सदस्य पदमा निर्वाचन भएको थियो। निर्वाचनमा कुल ७६२ मत खसेको प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईले जानकारी दिए। मतगणना सम्पन्न भएसँगै निर्वाचन परिणाम सार्वजनिक गरिएको हो।

यसअघि मनोनयनका क्रममा आवश्यकभन्दा बढी उम्मेदवारी नपरेपछि केही पदमा निर्विरोध निर्वाचन भएको थियो। उद्योगतर्फको उपाध्यक्षमा विजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एसोसियट सदस्यमा हिमांशु गोल्छा तथा वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भइसकेका छन्।

नयाँ नेतृत्व चयनसँगै उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन र निजी क्षेत्रका समस्या समाधानमा संघले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्