वैदेशिक रोजगार ठगीसँग सम्बन्धित करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन तथा डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा विभागले लामो समयदेखि अलपत्र रहेका मुद्दा तथा अनुसन्धान फायलहरूको खोजी, वर्गीकरण, अभिलेखीकरण र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाएको हो।
वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागमार्फत वैदेशिक रोजगारसम्बन्धी काम सुरु भएको थियो। त्यसपछि वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका उजुरीहरू दर्ता हुन थालेका थिए। वि.सं. २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि वैदेशिक रोजगारसम्बन्धी सेवा तथा मुद्दा अनुसन्धानको जिम्मेवारी विभागले सम्हाल्दै आएको छ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगार ठगीका उजुरी बढ्दै गएपछि मन्त्री यादवले मुद्दा तथा अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा अघि बढाउन विभागलाई निरन्तर निर्देशन दिँदै आएका छन्।
विभागका अनुसार अभिलेख व्यवस्थापनका क्रममा वि.सं. २०५७ सालदेखिका महत्वपूर्ण मुद्दा तथा अनुसन्धानसम्बन्धी फायलहरू समेत फेला परेका छन्। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायल खोजी गरी सालवसाली रूपमा व्यवस्थित भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ।
यससँगै ती फायलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरिएको छ।
विभागले वि.सं. २०५७ सालदेखिका उपलब्ध सबै फायलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने योजना बनाएको छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितले छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउने विश्वास विभागको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्