Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

लगानीकर्ताको हितमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा, हित संरक्षण र बजार सुधारलाई उच्च प्राथमिकतामा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट टाढा रही निष्पक्ष रूपमा काम गर्न आग्रह गर्दै लगानीकर्ताको विश्वास बढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

उनले पुँजी बजारमार्फत आर्थिक वृद्धिलाई गति दिन अध्यक्ष भट्टले स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने उल्लेख गर्दै दैनिक, साप्ताहिक, मासिक, ६ महिने र वार्षिक योजना मन्त्रालयमा पेश गर्न निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले बजारमा फैलाइने अनावश्यक हल्ला र अफवाहले विशेषगरी साना लगानीकर्तामा त्रास सिर्जना गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले धेरै बोल्नेभन्दा कामबाट परिणाम देखाउनुपर्नेमा जोड दिँदै बजार सुधारका योजना निश्चित समयसीमाभित्र कार्यान्वयन गर्न आग्रह गरे।

"कुनै पनि लोभ र प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। सरकारले आवश्यक सबै सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको वातावरण बनाउन अग्रसर हुनुहोस्," अर्थमन्त्री वाग्लेले भने।

उनले मन्त्रालयबाट बोर्डको काममा अनावश्यक हस्तक्षेप नहुने स्पष्ट पार्दै आफूलाई हरेक हप्ता पुँजी बजारको अवस्थाबारे जानकारी गराउन पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सरकार र अर्थ मन्त्रालयको नीति तथा योजनाअनुसार इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए।

भट्टले पुँजी बजार सुधारका लागि यसअघि भएका अध्ययन, सुझाव र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्